काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल र भारतबिचको सम्बन्ध राम्रो राख्दा दुवै देशको हित हुने बताउनुभएको छ । गणेशमान सिंह फाउन्डेसनले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषय गोष्ठिमा समबोधन गर्नुहुादै उहाँले नेपाल र भारतबिचको सम्बन्ध सन्तुलित र मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । ‘नेपाल र भारतमा सरकार जुनसकै पार्टीको होस् । दुवै देशबिच आपसमा सम्बन्ध सन्तुलित र मजबुत राख्यो भने दुवै देशलाई हित हुने कुरा हामीले जोड गर्नुपर्छ ,’ उहाँले भन्नुभयो ।

फाउन्डेसनका अध्यक्ष समेत रहनुभएका सिंहले ०४६ सालको जनआन्दोलनमा चन्द्रशेरजीको भूमिकाको चर्चा गर्नुभयो । उहाँले भारतका पूर्वप्रधानमन्त्री, स्वर्गीय चन्द्रशेखरजी र ०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहबिच राम्रो सम्बन्ध रहेको बताउनुभयो । ‘चन्द्रशेखर जी र गणेशमानजीकोबिचमा राजनीतिक नेतामा हुनुपर्ने गुणहरुमा दुवैजनामा एकै किसिमको भएकाले हो की के हो एकआपसमा राम्रो सम्बन्ध थियो । उहाँहरु एकले अर्कालाई उत्तिनै मान्नुहुन्थ्यो । चन्द्रशेखरजीले त एउटा प्रिय नेताका रुपमा र आइडोलगका रुपमा गणेशमानजीलाई मान्छु भनेर भन्नुहुनथ्यो,’ प्रतिष्ठानका अध्यक्ष समेत रहनुभश्एका उपप्रधानमन्त्री सिंहले भन्नुभयो । सिंहअघि बोल्नुभएका बहुजन समाजवादी पार्टीका वरिष्ठ नेता र चन्द्रशेखरजीका निकटस्थ मानिने सोधेन्द्र भदौरियाले चन्द्रशेखरीले नेपालमा गणेमान सिंहलाई सबैभन्दा बढी आदरभाव राख्ने गरेको र नेपालको महात्मा गान्धीका रुपमा चर्चा गर्ने गरेको सुनाउनुभएको थियो ।

उपप्रधानमन्त्री सिंहले ०४६ सालको जनआन्दोलनको तयारीका क्रममा चाक्सीबारीमा भएको सम्मेलनलाई सम्बोधन गर्न आएको बेलामा चन्द्रशेखरजीलाई नजिकबाट देख्न र सुन्न पाएको भन्दै त्यतीबेला उहाँले दिनुभएको मनको भयलाई हटाउ स्वतन्त्रता प्राप्त हुन्छ भन्ने चर्चीत वक्तव्य देशव्यापी रुपमानै फैलिएको स्मरण गर्नुभयो । ०४६ सालको जनआन्दोलनको माहोल तताउन चन्दैशेखरजीको मन्तव्यले धेरै ठुलो भूमिका खेलेको पनि सिंहले बताउनुभयो । ‘नेपालमा स्वतन्त्रताका लागि लड्ने, भिड्ने, त्याग गर्ने यत्रा धेरै युवाहरुछन् । अवश्य पनि तपाईंहरुको आन्दोलन सफल हुनेछ भन्ने कुरा उहाँले व्यक्त गर्नुभयो । केही गर्रौं भनेर हामी यहाँ उपस्थित भएका छौं तर, हाम्रो उपस्थिती भए पनि नभएपनि तपाईंहरुको जुन आन्दोलन हो । लोकतन्त्रप्रतिको प्रतिवद्धता हो । त्यो सम्भव हुन्थ्यो भनेर उहाँले व्यक्त गर्नुभएको कुरालाई हामीले सम्झनुपर्छ ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । चन्द्रशेखर प्रधानमन्त्री भएर नेपाल भ्रमणमा आउँदा पनि ततकालिन समयमा स्थानीय जनप्रतिनिधि नभएका बेला सर्वदलीय समिति बनाएर दशरथ रंगशालामा नागरिक अभिनन्दन गरेको दिनको पनि सिंहले स्मरण गर्नुभयो ।

कांग्रेृस सभापति शेरबहादुर देउवा प्रमुख अतिथी रहेको कार्यक्रममा भारतका वरिष्ठ नेताहरु केसी त्यागी, भदौरिया, एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, लोकतान्त्रि समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बराल, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफ्नो धारणा राख्नुभएको थियो ।